News Griha :: न्यूजगृह
कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं— नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग मागेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाइकन उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्यो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा । तर नैतिकताका हिसाबले देशमा यत्रो सुन क्विन्टल क्विन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरूले राजीनामा दिनुपर्छ की पर्दैन ? कुरा यो हो ।’  

बरामद करिब १ सय केजी सुन प्रकरणबारे अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उनको भनाई थियो ।

उनले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालय मातहत नेपाल प्रहरी विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको प्राप्त भएपनि नैतिकताका हिसाबले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको जिकिर थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:१३
Weather Update