News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्ध सर्वोच्चको परमादेशपछि बाबुरामको टिप्पणी- संविधानको ठाडो उल्लङ्घनलाई अदालतले सच्यायो 

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको ठाडो उल्लंघन गरी केन्द्रका सत्ताधारी नेताहरूले बल प्रयोग गरेर कोशी प्रदेश सरकार गठन गरेकोमा सर्वोच्च अदालतले सच्याएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकार असंवैधानिक भन्दै नेकपा एमाले संसदीय दलका नेता तथा तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । अदालतले बिहीबार थापा नेतृत्वको सरकार असंवैधानिक रहेको ठहर गरी नयाँ सरकार निर्माण गर्न आदेश दियो ।

सोही प्रसंगमा अध्यक्ष डा.भट्टराईले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्‍याएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिए । शुक्रबार ट्वीटरमा बाबुराम लेख्छन्,‘प्रसंग १ नम्बर प्रदेशको (क्षमा गरियोस् नामाकरण ठीक भएन !) हो ! त्यहाँ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बल प्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन् ! त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्‍याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ ।’

त्यसैगरी पूर्वप्रधानमन्त्री डा.भट्टराईले संविधानका निर्माताहरू नै राजनीतिक तथा निजी स्वार्थनिम्ति संविधान मिच्न लागेको भन्दै प्रश्न गरे । ‘गम्भीर कुरा के भने यो संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय/गुटीय/निजी स्वार्थनिम्ति संविधान मिच्छन् र मिच्न लगाउँछन् भने संविधानको रक्षा कसले गर्छ ? रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ ? एक पटक आफ्नो सरकार नबने नबनोस्,मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको ? आफू र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला ?’

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०९:१५
Weather Update