
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् ।
शुक्रबार प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा सभापति देउवाले भने, ‘कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरूले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।
उनले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताए । प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने देउवाको भनाइ छ ।
भेटमा समाजले मुलुक विकासका लागि नेपाली कांग्रेस र प्रजातन्त्र बलियो बनाउन आवश्यक रहेको सुझाव दिएको थियो ।
समाजका नवनिर्वाचित अध्यक्ष कुलचन्द्र वाग्ले भने, ‘मुलुकको विकास र प्रजातन्त्रलाई बलियो बनाउनका लागि प्रजातान्त्रिक विचार समाजले दिएको सुझाव ग्रहण गरेर कांग्रेस अगाडि बढोस् भन्ने हाम्रो चाहना छ ।’
अध्यक्ष वाग्लेले प्रजातन्त्रमाथि आजपनि विभिन्न क्षेत्रबाट प्रहार हुन खोजेको भन्दै त्यसलाई बलियो बनाउनका लागि समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत स्पष्ट पारे ।













