News Griha :: न्यूजगृह
नारा होइन पारा राम्रो हुनुपर्‍यो: रवि लामिछाने 
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले पार्टीमा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । सभापति लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे ।

उनले मिसन २०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए  । सभापति लामिछानेले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए । उनले भने, ‘नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो, मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो, नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:४३
Weather Update