News Griha :: न्यूजगृह
आफन्त, नातागोता, ठूला घराना जो होस्, भ्रष्टाचारीलाई छोड्दैनौँ : गृहमन्त्री श्रेष्ठ 

काठमाडौं— गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले सरकारलाई रोक्ने काम भइरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृत्तिलाई अन्त्य गर्न डटेर लागेको बताए ।  यो वा त्यो बहानामा साथीभाइ, राजनीतिक दल, नातासम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ ।

‘अहिले सरकारले चालेको भ्रष्टाचार, ठगी विरोधी अभियानमा, जो सङ्गठित अपराधहरू देशमा जनता र राज्यलाई चुस्ने काम भइराखेको छ त्यो सन्दर्भमा चालिएको अभियानमा सबैको सहयोगको अपेक्षा गर्छु, भैरहेको पनि छ । युवाहरू देशमा केही हुन्छ भनेर आशावादी र उत्साहित बनेका छन्, यो धेरै राम्रो पक्ष हो,’ उनले भने, ‘तर, कता कता  यसले कसलाई तान्ने हो भनेर, विभिन्न त्यान्द्रो जोडिएकाहरू कराउँछन् भने त्यसमा हामी सचेत हुनुपर्छ । त्यसले सरकारको यो दिशालाई विश्राम दिदैँन । कसैले नसोचे हुन्छ, भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियानलाई हामी रोक्न सक्दैनौ, त्यो कृपा कसैले नगरे हुन्छ ।’ 

उनले सरकारले कुनै राजनीतिक दल, नेता, व्यापारिक घराना, साथीसंगी कसैलाई नचिन्ने र ति कसैको मतलव नगरी भ्रष्टाचारमा दोषी पाइएकालाई कुनै कृपा नगरी कानूनी कारबाही गर्ने दाबी गरे । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:५६
Weather Update