News Griha :: न्यूजगृह
कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह

चितवन— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् ।

चितवनमा शनिबार सञ्चारकर्मीसँग उनले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे । ‘नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौँ । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन,’ नेता सिंहले भने । कोशी प्रदेश सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेको उनको भनाइ थियो ।

उनले भने, ‘कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नुहुनेछ ।’ सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भए पनि हस्तक्षेप नहुने उनको भनाइ थियो । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:१५
Weather Update