News Griha :: न्यूजगृह
यो जनताको होइन्, दलाल पुँजीवादीहरूको सरकार हो : एमाले महासचिव पोखरेल

काठमाडौं— नेकपा एमाले महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताको नभई पुँजीवादीहरूको भएको आरोप लगाएका छन् । 

नेकपा एमाले काठमाडौं महानगर कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश आर्थिक सङ्कटमा फस्दासमेत केही निश्चित घरानाका व्यापारीले कमाईरहेको भन्दै उनले सरकारको नीति नै गलत रहेको दाबी गरे । 

‘आर्थिक रुपमा मुलुक सङ्कटमा पर्दा निश्चित व्यापारी घरानाको सम्पत्ति वृद्धि भइरहेको छ। यो कसरी सम्भव छ भने राज्यका नीति गलत बाटोमा छन् । अवैध अर्थतन्त्रको पक्षमा छ,’ पोखरेलले भने, ‘यो सरकार जनताको सरकार होइन्, यो सरकार दलाल पुँजीवादीहरूको सरकार हो । यसले अर्थतन्त्रको विकासमा होइन, व्यापारिक पुँजीवादलाई प्रवर्द्धन गर्ने कुरामा अन्तराष्ट्रिय व्यापारलाई नेपालमा प्रवर्द्धन गर्न एजेण्डाका रुपमा यो सरकारले भूमिका खेलिरहेको छ । त्यसो हुँदा आज हाम्रो मुलुक सङ्कटमा छ । ’ 

उनले एमालेको भूमिका प्रभावकारी नहुदाँ लोकप्रिय हुँदाहुँदै पनि सोचे जस्तो परिणाम नआएको बताए । पोखरेलले भने ‘पार्टी यो मुलुकको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित हुन सफल भएको छ । तर हामी विरुद्धको घेराबन्दीका कारणले संसद्मा हाम्रो उपस्थिति नेपाली काङ्ग्रेसको भन्दा तल छ । ’

एमालेमाथि अझै पनि चौतर्फी हमला भइरहेको भन्दै उनले अहिलेको सरकारले कुनै पनि हालतमा आफ्नो पार्टी नेतृत्वको सरकारको भन्दा राम्रो काम गर्न नसक्ने ठोकुवा गरे । ‘हाम्रो विरुद्धमा भएको घेराबन्दी हाम्रो कमजोरी हो कि जनता र राष्ट्रियका पक्षमा हामीले गरिरहेका कामहरूका कारणले आफ्नो भविष्यका बारेमा चिन्ता गरिरहेका शक्तिहरूले हाम्रा विरुद्धमा आफ्नो सुरक्षाको लागि गरिएको घेराबन्दी हो भन्ने कुरालाई हामीले विश्लेषण गर्न सक्नु पर्छ,’ पोखरेलले भने ‘अहिलेको सरकारको असफलतासँग नेकपा एमालेलाई जोडेर विश्लेषण गर्ने गरिन्छ । एमाले सरकारमा हुँदा देश आर्थिक स्तरमा राम्रो थियो । पुँजीगत खर्च गर्ने विषयमा गठबन्धन सरकार कमजोर देखा परेको छ । नेपाल एसियाको सबैभन्दा कमजोर राष्ट्रभित्र परेको छ  गठबन्धन सरकारका कारणले । ’ 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १७:२२
Weather Update