News Griha :: न्यूजगृह
बाबुराम भन्छन्— कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प, सत्तालिप्साले गणतन्त्र कमजोर बन्छ

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदमुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला डा.भट्टराईले सो सुझाव दिएका हुन् ।

उनले ट्वीटरमा भनेका छन्,‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ? यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने !’

प्रदेश प्रमुख परशुराम खापुङलेले यही साउन १६ गते अपराहृन ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षले बहुमत जुटाउन सकेका छैनन् ।

नेकपा एमालेका नेता हिक्मत कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०७:२३
Weather Update