
काठमाडौं— सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएसँगै सत्तारुढ राजनीतिक दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गरेसँगै प्रदेश प्रमुखले साउन १६ गतेभित्र नयाँ मुख्यमन्त्री दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका छन् ।
त्यससँगै सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिगेर नयाँ सरकार गठनको प्रयासमा छन् ।
सोही अनुसार शनिबार दुई दलका नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटको थिए भने कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् ।
आइतबार बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिगेर सरकार गठन गर्ने प्रयास सम्भव नभए सत्ता गठबन्धनले प्रदेश सभाका सभामुखलाई राजीनामा गराएर भएपनि साउन १६ गतेसम्म मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् ।
कोशी प्रदेश सभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन् ।
सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् ।
सर्वोच्च अदालतले पनि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठनको विकल्प रहेसम्म त्यसकै आधारमा अघि बढ्न भनेको छ ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार कोशी प्रदेशमा सरकार गठनका लागि तत्काल अर्को विकल्प देखिँदैन ।
उक्त धारा अनुसार सरकार गठन हुन नसके १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनेछ । प्रदेश प्रमुखले कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने हुन्छ ।
यो पनि पढ्नुहोस














