
काठमाडौं— कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानुनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् ।
आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि ऐन ल्याउन लागेको बताएका हुन् । उनले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाको सुझाव लिएर संसदमा पेस गर्ने बताए ।
मन्त्री भुसालले कृषि क्षेत्र नेपालीहरूको जीवनसँग जोडिएकाले नीति, नियम, कानुनअनुसार व्यवस्थित बनाउने र सरकारले गर्नु पर्ने दायित्व पूरा गर्नु पर्ने आवश्यकता रहेको बताए ।
‘हामीले कृषिलाई जीवन मानेका छौँ, जीवन पद्धती मानेर नै योसँग जोडिएको विषयलाई नियम कानुनसम्मत, व्यवस्थित बनाउने र सरकारले पूरा गर्नु पर्ने दायित्व कसरी पूरा गर्ने भन्नका लागि सरकारले कृषि ऐन २०८० बनाउन खाजेको हो,’ उनले भने, ‘कृषि नीति बनाएका छौँ भनेर भएन, कानुनी राज्यमा निर्देशन गर्ने नीतिले नभएर कानुनले हो, कानुनले हरेक क्षेत्र कानुनअनुुसार चल्न भनेको छ, त्यसैले कृषि क्षेत्र पनि कानुन अनुसार चल्नु पर्छ ।’
मन्त्री भुसालले जीवन पद्धतीसँग कृषि जोडिए पनि अहिलेसम्म कृषि ऐन नबन्नु लाजमर्दो कुरा भएको बताए । उनले कृषि नीतिले मात्रै सबै कुरा गर्न नसक्ने भएकाले कृषि क्षेत्र कानुन अनुसार चल्नका लागि कृषि ऐन आवश्यक रहेको दाबी गरे ।
मन्त्री भुसालले संविधान बनेसँगै कृषि ऐन बन्नु पर्ने भए पनि विभिन्न कारणले अहिलेसम्म बन्न नसकेको भन्दै यसलाई लामो छलफल र सुझाव भन्दा आवश्यक विषयमा मात्रै छलफल गरी टुंग्याउनु पर्ने बताए ।
उनले सधैँका लागि नभई ऐन आवश्यकताअनुसार संशोधन गर्न सकिने भएकाले अब सुझाव र छलफलमा मात्रै समय फल्न नहुने बताए । उनले सरोकारवालाले मन्त्रालयले बनाएको ऐनको मस्यौदामा बसेर सुझाव दिन आग्रह गरे ।













