News Griha :: न्यूजगृह
नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाबुरामको नौ बुँदे प्रस्ताव 

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले माओवादी केन्द्रसँग पार्टी एकीकरणका लागि नौ बुँदे प्रस्ताव अघि सारेको छ । माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दै समावादी मोर्चामासमेत सहभागि हुने तयारीका साथ नेसपाले एकताका लागि संवाद समिति गठन गरेको छ । 

नेसपा संवाद समिति संयोजक गंगानारायण श्रेष्ठले पार्टीको तर्फबाट तयार पारेको प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका छन् । दुई पार्टी एकता भएपछि नाम, पार्टीको झण्डा, चुनाव चिन्ह परिर्वतन गर्न प्रस्ताव गरिएको हो ।

आफ्नो पार्टीका कम्तीमा सात जना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने, केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरोमा समायोजन गर्नुपर्ने  प्रस्ताव नेसपाकाे छ ।

एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सार्दै नेसपाको पार्टी एकताको प्रस्तावमा भनिएको छ,‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ ।’

नेसपाले अघि सारेको पार्टी एकतको प्रस्तावमा साउन १७ देखि काठमाडौं सुरु हुने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:०२
Weather Update