
काठमाडौं— स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन नसकेको गुनासो गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिहरूसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्य मन्त्री बस्नेतले निकै मेहेनतपछि अर्थ मन्त्रालयले कटौती गरेको बजेट पनि दिएको बताए ।
‘स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङ घटाएको थियो, हामीले प्रयास गरेपछि अर्थ मन्त्रालयले १० अर्ब ११ लाख पैसा दुईपटक गरी थपेको छ, त्यति हुँदा हुँदै पनि २० प्रतिशत बजेट कटौती भएको छ,’ उनले भने, ‘त्यसमा सुर्तीजन्य पदार्थमा उठेको ६ अर्ब वार्षिकमा पनि मन्त्रालयले ४० करोड मात्र पाएको छ, त्यसैले सुर्तीजन्यबाट उठेको पैसा र कोभिडको बेला खर्च गर्ने भनेर प्राप्त गरेको पैसा अर्थ मन्त्रालयमा छ ।’
मन्त्री बस्नेतले विश्व बैंकलगायतका संस्थाबाट स्वास्थ्य क्षेत्रमा आएको सहयोग स्वास्थ्य मन्त्रालयले चलाउन पाउनु पर्ने बताए । उनले दरबन्दीको अभावमा पनि स्वास्थ्य क्षेत्रमा धेरै काम हुन नसकेको प्रष्ट पारे ।
‘कर्मचारीको दरबन्दी अभाव भएर दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पर्याप्त मात्रामा पुर्याउन नसकेको अवस्था छ,’ उनले थपे, ‘यो पैसा आयो भने हामीले सरुवा रोग र नसर्ने रोगहरू दरबन्दी सृजना गर्ने छौँ, यो पैसा फेरि स्वास्थ्य मन्त्रालयलाई दिन अनुरोधको प्रक्रिया अगाडि बढाउने छौँ ।’