
काठमाडौं— प्रतिनिधि सभाको बैठक नियमित गर्ने विषयमा कार्य व्यवस्था समिति बैठकमा सहमति नजुटपछि सभामुखले मुख्य दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।
मंगलबार संसद भवनमा बसेको कार्य व्यवस्था समितिको बैठकमा सुरूमा संसद चल्न दिने र एमालेले छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने भनिएको थियो । तर, सत्ता पक्षका सांसदले नमानेपछि सहमति जुट्न नसकेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
‘लगभग सहमति भएको थियो, तर सत्ता पक्षका सांसदले नमानेपछि अहिले पुनः सभामुखले मुख्य दलका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको छ,’ उनले भने, ‘बैठक चल्ने कुरा थियो, सत्ता पक्षका माननीयले पूर्ण सहमति नभएसम्म सूचना टाँसेर बैठक सारौँ भन्नु भएको छ ।’
सत्तापक्ष छानबिन समिति बनाउन सहमत भए संसद बैठक चल्ने नत्र अवरोध गर्ने एमालेका प्रमुख सचेतक गिरीले बताए । प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइए थियो ।
यसैबीच कार्य व्यवस्था समितिको बैठकमा समेत सहमति नभएपछि सभामुखले मुख्य दलका प्रमुख सचेतकसँग छलफल सुरु गरेका हुन् ।
एक क्विन्टल सुन प्रकरणबारे संसदीय समिति बनाउन माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ ।













