News Griha :: न्यूजगृह
कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेलाई सदस्यता नवीकरण नदिने

काठमाडौं— नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो ।

चौथो महाधिवेशनमा उक्त शाखाले  २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो । क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा चारवटा वडामा क्रियाशील सदस्यभन्दा कम मत पार्टीका उम्मेदवारले पाएकाले क्रियाशील सदस्य नवीकरणमा कडाइ गर्न लागिएको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार यही साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ । हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्यांक छ ।

केही समय थप गरेर नवीकरण टुङ्ग्याउने पार्टीको तयारी छ । यद्यपि, पार्टीका उम्मेदवारलाई भोट नहाल्नेलाई कुनै हालतमा पनि नविकरण नगर्न वडाहरुलाई भनिएको छ ।

जिल्ला समितिले स्वघोषणापत्रमा सदस्यताको अनिवार्य हस्ताक्षर हुने गरी फारम पठाएको छ । स्वघोषणा पत्रमा भनिएको छ, ‘मैले नेपाली कांग्रेसको नीति, दृष्टिकोण, विचारअनुसार र नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना नगरेको कहीँ कतैबाट प्रमाणित भएमा क्रियाशील सदस्यता रद्द गरे मेरो पूर्ण मञ्जुरी रहने छ ।’

पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरु नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको सभापति खनालले बताए ।

पार्टीमा नवीकरणमा क्रियाशील सदस्य घटाउने अभियानमा आफू रहेको भन्दै उनले पार्टीप्रति प्रतिबद्धहरूले नयाँ सदस्यता पाउने बताए । कांग्रेसलाई स्वच्छ र सुन्दर पार्टी निर्माणका लागि पार्टीको निर्देशन नमान्नेलाई सदस्य भन्न नसकिने सभापति खनालको भनाइ थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:४७
Weather Update