
काठमाडौं— नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी–ट्वान्टी क्यानडाको प्लेअफमा पुगेको छ ।
मंगलबार राति सपन्न खेलमा ब्रैम्प्टन वुल्भ्सलाई ६ विकेटले पराजित गर्दै सर्रे एक खेल अगावै प्लेअफमा प्रवेश गरेको हो ।
ब्रैम्प्टनले दिएको १ सय २९ रनको लक्ष्य सर्रेले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । तर यस खेलमा नेपालका स्पीनर लामिछाने भने विकेटविहीन भए ।
सन्दीपले ३ ओभरमा २५ रन खर्चिंदा विकेट लिन सकेनन् । सन्दीप यस सिजनमा पहिलो पटक विकेटविहीन बनेका हुन् ।
सर्रेको जितमा लिन्टन दासले ४५ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ईफ्तिखार अहमदले अविजित ३८ रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ब्रैम्प्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो ।
उसका लागि कोलिन डि ग्रान्डहोमले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए ।













