News Griha :: न्यूजगृह
सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ रोकियो

काठमाडौं— कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम केही ढिला हुने भएको छ । मुख्यमन्त्रीले आज मन्त्रिपरिषद्मा जाने मन्त्रीहरूको जिम्मेवारी टुंगो लगाउने बताउँदै सत्ता गठबन्धनको बैठक बोलाएपछि शपथ ग्रहण ढिला हुने भएको हो ।

‘हिजो मुख्यमन्त्रीले पहिलो चरणमा मन्त्रीहरूलाई विना विभागीयको जिम्मेवारी दिने बताउनु भयो, आज फेरि विभाग पनि टुंगो लगाउने भन्नु भएपछि शपथ ग्रहण कार्यक्रम केही ढिला हुने भएको हो,’ नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले भने, ‘अहिले मन्त्री बन्नेहरूका लागि विभाग टुंगो लगाउन छलफल भइरहेको छ ।’

बुधबार बिहान साढे १० बजे मुख्यमन्त्रीको शपथ ग्रहण गराउनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । आज गठबन्धन दलबाट एक–एक जना मन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनको सरकार बनाउनका लागि मंगलबार बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएका थिए । नेकपा माओवादीका नेता गौतम सत्ता गठबन्धनबाट सभामुख बनेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:२७
Weather Update