
काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आलोचना भएको छ ।
बुधबार सुरु पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य लक्ष्मण पन्तले प्रचण्डको मौखिक प्रतिवेदमाथि आलोचन गरेका हुन् ।
उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई नयाँ सामन्तवादको किल्ला बनेको आरोप लगाए ।
पन्तले सरकारमा रहेका नेताहरूलाई गोप्य तवरले ‘डिल’ गर्न सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा राखेकोमा चर्को आलोचना गरे ।
उनी भन्छन्,‘सत्तामा रहेका नेताहरूले आफूलाई ‘डिलिङ’ मा सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा नियुक्त गरेका छन् । दाहालको निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्र होइन ।’
पन्तले आगामी चारदेखि ६ महिनाभित्र पार्टी महाधिवेशन गरेर अध्यक्षसहित सिंगो केन्द्रीय समितिलाई पुनः निर्वाचित गराउनसमेत माग गरे ।













