
काठमाडौं— उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिग्रँदो अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यमा सकारात्मक हस्तक्षेपको नीति अवलम्बन गरिने बताएका छन् ।
नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघको १४औँ साधारणसभाको बिहीबार उद्घाटन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्यमा संकटोन्मुख अर्थतन्त्र सुधारका पक्षमा आवश्यक कदम चाल्न लागको बताए ।
उनले भने, ‘मुलुकमा राजनीतिक परिवर्तन भइसकेको विद्यमान अवस्थामा सामाजिक तथा आर्थिक क्षेत्रको रूपान्तरण गरी आमजनताको जीवनस्तर सुधारका लागि आवश्यक नीतिगत व्यवस्थासहित नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार सदैव तयार छ ।’
मन्त्रिमण्डल विस्तार भई सरकारले पूर्णता पाएसँगै अर्थतन्त्र सुधारका पक्षमा गम्भीर र प्रभावकारी कदम चाल्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने गरी रोजगार र निर्यातमुखी नीति तथा कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे ।













