News Griha :: न्यूजगृह
६ दशकपछि भरतपुर विमानस्थल विस्तार गरिँदै

चितवन— भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले गौरवको आयोजनाको रुपमा लिएको विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको मेयर रेनु दाहालले बताइन्  ।

उनले भनिन, ‘यो पाँच वर्षको अवधिमा हामीले ६ पर्यटन मन्त्रीसँग नियमित छलफल गर्‍यौँ । महानगर, प्राधिकरण, मन्त्रालय हुँदै प्रधानमन्त्रीको निजी निवास र कार्यालयमा धेरै पटक छलफल भएको छ ।’ तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी हुँदा विमानस्थलको स्तरोउन्नती र विस्तारको थालनी गरिएको थियो । मेयर दाहालले भनिन, ‘झण्डै पाँच वर्ष फाइल बोकेर भरतपुर र काठमाडौँ ओहोर दोहोर गरे ।’

bharatpur airport1680238425.jpg

विमानस्थलको धावनमार्ग विस्तारका लागि घोडा प्रजनन केन्द्रलाई गणेशस्थान र नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बङ्गला सारेर विमानस्थलको विस्तार हुनेछ । ब्यारेक सार्ने निर्णय भएपनि घोडा प्रजनन केन्द्र बारे निर्णय भएको छैन । भरतपुर विमानस्थल २०१५ साल देखि  सञ्चालनमा आएको हो । तत्कालीन समयमा टुइनेटर जहाजमात्रै सञ्चालन हुँदै आएकोमा अहिले एटिआर, जेटस्टिम बिचक्राफ्टजस्ता मझौला र आधुनिक जहाजको उडान हुँदै आएको छ ।  

जोखिमपूर्ण विमानस्थल
विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र छ । छोटो रनवे र उडान तथा अवतरण क्षेत्रमा भौतिक संरचना कारण पनि यो विमानस्थल जोखिमपूर्ण मानिन्छ ।

योजना अनुसार धावनमार्गलाई एक हजार पाँच सय मिटर लामो बनाइने छ । योसँगै आधुनिक ट्रमिनल भवन बनाइँदै छ । एक अर्ब ९२ करोडको लागतमा निर्माण गर्न लागिएको अत्याधुनिक ट्रमिनल भवनको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरे ।

bharatpur airpot21680238425.jpg

अहिले भरतपुरबाट बुद्ध एअरले काठमाडौँ र पोखरा उडान भर्दै आएको छ । दैनिक १२ उडान हुँदै आएकोमा कोरोना महामारीपछि भने दैनिक ६ वटा उडान हुँदै आएको छ । ५८ बिघा क्षेत्रफलमा फैलिएको उक्त विमानस्थल सन् १९५८ मा संयुक्त राज्य अमेरिकाको सहयोगमा मलेरिया नियन्त्रण कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीका अनुसार अहिले विमानस्थल १० घण्टाको हाराहारीमा मात्र सञ्चालन हुँदै आएको छ ।

विस्तारपछि रात्रिकालीन उडानसमेत गरिने उनको भनाई छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १०:३१
Weather Update