
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै कार्यान्वयन हुन नसकेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयनको विषयलाई लिएर देखिने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
‘मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन, यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ, यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु,’ उनले भने ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी तयार गरी लिखित रूपमा एक तहमाथिको सुपरीवेक्षकसमक्ष पेश गर्ने र सोहीअनुसार कर्मचारीको पाक्षिक रूपमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्ने बताए ।
‘अहिले म प्रधानमन्त्री भएर आएको सात महिना बितिसकेको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच कार्यकारी कार्यालय हो, यहाँबाट हुने कार्य सम्पादनको प्रतिबिम्बले सिंगो देशको कार्य प्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ,’ उनले भने, ‘त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ, प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न जरुरी छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूले गरेका कार्य प्रगतिको समीक्षा गर्दा समस्याका चाङ यथावतै रहेको उनको भनाइ छ ।













